काठमाडौं, असोज १ । काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले उद्योगी तथा विक्रेताहरूलाई प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन आग्रह गरेको छ।
पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि ग्यास उद्योगहरूले वैकल्पिक मार्गमार्फत सिलिन्डर काठमाडौं ल्याउँदै आएका थिए। त्यसबेला थप ढुवानी खर्चबापत प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा जोडेर २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न संघले आग्रह गरेको थियो।
हाल अवरुद्ध सडकखण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएसँगै एलपी ग्यासका बुलेटहरू सिधै काठमाडौं आउन थालेका छन्। त्यसैले अब थप ढुवानी शुल्क लिनुपर्ने अवस्था नरहेको संघले जनाएको छ।
संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा असोज २ गते शुक्रबारदेखि काठमाडौं उपत्यकामा नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास बिक्री–वितरण गर्न उद्योगी तथा विक्रेतालाई आग्रह गरिएको छ।




