काठमाडौं, असोज ५ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण तथा आवश्यक मर्मतसम्भार र स्तरोन्नति कार्यका लागि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेशनमा १३२ के.भी. प्यानलमा नयाँ रिले जडान तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले असोज ४ गतेदेखि असोज १५ गतेसम्म विभिन्न स्थानमा तोकिएको समयमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको हो।
प्राधिकरणका अनुसार रत्नपार्क, पुल्चोक, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। प्रभावित क्षेत्रहरूमा न्यूरोड, सुन्धारा, बल्खु, सानेपा, टेकु, कालिमाटी, त्रिपुरेश्वर, कीर्तिपुरलगायतका स्थान रहेका छन्।
निर्धारित तालिकाअनुसार केही क्षेत्रमा राति ११ बजेदेखि बिहान २ बजेसम्म तथा केही स्थानमा बिहान २ बजेदेखि ५ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।
विद्युत् आपूर्ति नियमित राख्न वैकल्पिक व्यवस्थाबाट सम्भव भएसम्म प्रयास गरिने प्राधिकरणले जनाएको छ। साथै, निर्धारित समयभन्दा अगावै मर्मत तथा स्तरोन्नतिको काम सम्पन्न भएमा विद्युत् आपूर्ति पनि सोहीअनुसार चाँडै सुचारु गरिनेछ।
विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। विस्तृत जानकारीका लागि प्राधिकरणको वेबसाइट हेर्न वा हटलाइन नम्बर ११५० को एक्सटेन्सन नम्बर ३ मा सम्पर्क गर्न सकिने जनाएको छ।





