काठमाडौं, असोज ५ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार दिउँसो सार्वजनिक बसमा आगलागी भएको छ। ऋद्धिसिद्धि यातायातको उक्त बसमा मध्याह्न अचानक आगजनी हुँदा चालक गम्भीर घाइते भएका छन्।
घटनाबारे प्रत्यक्षदर्शीहरूले सवारीमा कोही पनि यात्रु नभएको अवस्थामा चालक दावा लामा आफैंले बसमा आगो लगाएको दाबी गरे पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन।
आगलगिबाट गम्भीर घाइते भएका चालक लामालाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।
घटनाको कारण खुल्न सकेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार आगलागीको वास्तविक कारण पत्ता लगाउन र चालक तथा बसबारे थप आधिकारिक विवरण संकलन गर्न अहिले विस्तृत अनुसन्धान भइरहेको छ।




