काठमाडौं, असोज ६ । बाढी तथा पहिरोका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडकखण्डमा यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ। सरकारले यही असोजभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित विभिन्न स्थानमा एकैसाथ काम अघि बढाएको हो।
गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत सम्पन्न भइसकेको छ। देवीघाटमा आवश्यक एक्रो ब्रिज समेत जडान गरिएको छ।
विदुर क्षेत्रमा क्षतिग्रस्त सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङमार्फत ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ। यस्तै, रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडानका लागि फाउण्डेशन निर्माणको काम अघि बढाइएको छ।
बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकखण्डमा भने हाल ठूलो समस्या नरहेको बताइएको छ। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएकाले त्यसका लागि आवश्यक तयारी भइरहेको छ।
तर, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फको सडकखण्ड भने बाढी तथा पहिरोका कारण पूर्णरूपमा क्षतिग्रस्त भएको छ। उक्त क्षेत्रमा नयाँ सडक निर्माणका लागि सर्वेक्षणको काम सुरु भइसकेको छ।
सरकारले तत्काल यातायात सञ्चालनमा ल्याउने गरी अस्थायी संरचना निर्माणसँगै दीर्घकालीन रूपमा सो क्षेत्रमा स्थायी सडक निर्माण गर्ने तयारीसमेत अघि बढाएको छ।




