काभ्रेपलाञ्चोक, असोज ८ । लगातारको झरीका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढी आउँदा एक यात्रुवाहक बस खोलाको बीच भागमा अलपत्र परेको छ।
रोशी गाउँपालिका-७ कटुन्जेबाट थानसिंहतर्फ जाँदै गरेको उक्त बस खरिबोटस्थित भित्री सडकखण्डको खोला तर्ने क्रममा एकाएक बाढी आएपछि बीचमै रोकिएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ विपद् व्यवस्थापन बेस भकुण्डेबेसीबाट सहायक प्रहरी निरीक्षक सुमन बुढाथोकीको कमान्डमा १० जनाको सशस्त्र प्रहरी टोली उद्धारका लागि खटिएको थियो। टोलीले बसमा सवार सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेर सुरक्षित स्थानमा सारेको छ।
सशस्त्र प्रहरीका अनुसार घटनामा कुनै पनि मानवीय क्षति भएको छैन। खोलाको बीचमा अड्किएको बसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।




