धादिङ, असोज ११ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकको अवस्था निरीक्षण गर्दा असोज ११ गते बिहान १० बजेसम्म विभिन्न १० स्थानमा पहिरो तथा सडक भासिने समस्या देखिएको हो।
शीलतबजारमा चट्टान फुटाइएको भागबाट लेदो र रुखसहितको पहिरो खसेको छ भने सडकको छेउ हल्का भासिएकाले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ। गोमती खोलामा पनि लेदोसहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ।
कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। सडकको तल्लो भागलाई प्लास्टिकले छोपेर सुरक्षित राखिएको छ। त्यस्तै, ज्यामिरेघाट–चौकीभीर क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको छ।
हुग्दी खोलादेखि जवाङ खोलासम्मको करिब तीन किलोमिटर सडकखण्डमा आधा दर्जनभन्दा बढी स्थानमा ढुंगासहितको पहिरो गएको छ।
फिस्लिङ क्षेत्रमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडक भागमा ठूला ढुंगा, लेदो र रुखसहितको पहिरो खसेको छ। चेनेज ६९+०८० मा सडकको आधा भाग करिब ३० मिटर चर्किएको तथा दबिएको छ।
चुम्लिङटारमा ढुंगासहितको पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ। धारापानीमा दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। भरिएको कल्भर्ट खुलाउने काम सम्पन्न भए पनि सडक एकतर्फी मात्रै सञ्चालनमा छ।
घोप्टेभीरमा ठूला ढुंगा र लेदोसहितको पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ भने सिमलधारामा पनि ढुंगा र माटोसहितको पहिरोका कारण दुवैतर्फको यातायात रोकिएको छ।
सम्बन्धित निकायका अनुसार वर्षा रोकिएसँगै आवश्यक मेसिन तथा उपकरण परिचालन गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
तर, आज मलेखु–मुग्लिङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहने भएकाले सडक प्रयोगकर्तालाई सकेसम्म उक्त सडकखण्डमा यात्रा नगर्न आग्रह गरिएको छ। लगातार वर्षाका कारण थप पहिरो खस्ने जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरिएको हो।




