काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथिको छलफल टुंग्याउँदै पारित गर्ने कार्यसूची रहेको छ।
आजको सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव’, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने तयारी छ।
यसअघि सोमबारदेखि नै ती प्रतिवेदन तथा प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूले धारणा राख्दै आएका छन्। सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातवटै प्रदेशका प्रतिनिधिका साथै भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका छन्।
आचार्यका अनुसार आज बिहान १०ः३० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुनेछ। छलफलपछि प्रस्ताव तथा प्रतिवेदनहरू पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
यसैबीच, महाधिवेशनको भोलिको सत्रको सुरुवातमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। थापाको सम्बोधनसँगै महाधिवेशनका आगामी कार्यक्रम तथा पार्टीको भावी राजनीतिक दिशाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।




