काठमाडौं, असोज ३० । ७१औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुधन गुरूङले नागरिकको हरेक गुनासो र पीर-मर्कालाई प्राथमिकतामा राखेर प्रहरी कर्मचारीहरूले भ्रष्टाचार, शक्तिको दुरूपयोग र पक्षपातविरूद्ध कुनै सम्झौता नगरिकनै ‘शून्य सहनशीलता’ को नीतिसहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले प्रहरीको वर्दी डर र त्रासको नभई नागरिकको आशा, भरोसा र सहकार्यको प्रतीक बन्नुपर्ने स्पष्ट पार्दै, नयाँ पुस्ताको भविष्य र देशप्रतिको विश्वास प्रहरीको निष्पक्ष अनुसन्धान, उचित व्यवहार र विपद्का समयमा गरिने उद्धार कार्यले नै निर्धारण गर्ने बताउनुभयो।
गृहमन्त्री गुरूङले भन्नुभयो, ‘नयाँ पुस्ताले सोधेको छ राज्य हाम्रो लागि काम गर्छ कि गर्दैन ? मेरो भविष्य मेरो देशमा, मेरो मातृभूमीमानै उज्जवल बन्छ कि बन्दैन ? यो विषय प्रहरी कार्यालय र यहाँहरूले देखाउने व्यवहार, निष्पक्ष अनुसन्धान र विपद्का समयमा गरिने उद्दारले समेत निर्धारण गर्नेछ । मलाई विश्वास छ नेपाल प्रहरीका सम्पूर्ण सदस्यहरूले राष्ट्र र जनताको सेवामा समर्पित भई नतिजा मार्फत यो उत्तर दिनुहुन्छ ।’ शान्ति सुरक्षा कायम गर्ने क्रममा भिड नियन्त्रण र बल प्रयोग गर्दा आवश्यकता, अनुपातिकता र जवाफदेहिताको सिद्धान्तको कडाईका साथ पालना गर्नुपर्ने उल्लेख गर्दै राज्यका संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम राख्न थप जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । उक्त अवसरमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
साथै, अन्तरदेशीय अपराध नियन्त्रणका लागि छिमेकी राष्ट्रहरूसँग सहकार्य बढाउने र सात दशक पुरानो कानुनमा सुधार तथा सेवा-सुविधा सम्पन्न आधुनिक प्रहरी संगठन निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।
समारोहमा गृहमन्त्री गुरूङले नेपाल प्रहरी संगठनमा आफ्नो जीवनका अमूल्य समय समर्पण गर्दै कर्तव्यनिष्ठा, कार्यदक्षता, व्यावसायिकता र उच्च अनुशासनका साथ अतुलनीय योगदान पुर्याउनुका साथै सेवाबाट निवृत्त पश्चात पनि समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धिमा निरन्तर योगदान पुर्याउनुभएका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक डा. प्रेमलाल श्रेष्ठलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कनतर्फ सर्वोत्कृष्ट हुन सफल लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीलाई ‘प्रहरी व्याटन २०८३’ प्रदान गर्नुभयो ।




