काठमाडौं, असोज २९ । एक महिलालाई ब्ल्याकमेलिङ गर्दै ज्यान मार्ने धम्की दिएको अडियो सार्वजनिक भएपछि विवादमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित स्पष्टीकरण बुझाएका छन्।
उनले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। सोमबार जनआस्था ले सार्वजनिक गरेको अडियोमा सांसद सुनारले ती महिलासँग आपत्तिजनक भाषा प्रयोग गरी रकम बार्गेनिङ गरेको र धम्क्याएको सुनिएपछि चौतर्फी आलोचना भइरहेको छ।
विवाद चर्किएपछि रास्वपाले छानबिनको प्रक्रिया अघि बढाउँदै अनुशासन आयोगलाई जिम्मा दिएको थियो। एआई प्रविधिको दुरुपयोग भएको दाबीअनुशासन आयोगलाई स्पष्टीकरण बुझाउनुका साथै सांसद सुनारले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै आफ्नो बचाउ गरेका छन्। सार्वजनिक अडियोमा सुनिएको आवाज आफ्नो नभएको र कृत्रिम बौद्धिकता (एआई) तथा आधुनिक प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ।
साथै, उनले निष्पक्ष अनुसन्धानका लागि पार्टी र कानुनलाई सघाउन तयार रहेको बताएका छन्। दोस्रो चरणको छानबिन र प्रहरीको चासोअनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार पहिलो चरणमा सांसद सुनारको लिखित स्पष्टीकरण लिने काम सकिएको छ र अब दोस्रो चरणअन्तर्गत तथ्य तथा प्रमाणहरूको सूक्ष्म अनुसन्धान थालिएको छ।
यसैबीच, नेपाल प्रहरीले पनि अडियोको सत्यतथ्य जाँच्न आन्तरिक अनुसन्धान सुरु गरेको छ। प्रहरी प्रवक्ताका अनुसार अडियोको प्राविधिक परीक्षण (ल्याब टेस्ट) गरिने र पीडित महिलाको औपचारिक उजुरी आएमा थप कानुनी प्रक्रिया अघि बढाउने तयारी छ।




