काठमाडौं, असोज २९ । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहँदा पछिल्लो चार दिनको अवधिमा प्रतितोला ८,१०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला २,९६,५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार घटेर २,८८,४०० रुपैयाँमा झरेको छ। यसअघि बुधबार सुन प्रतितोला २,८९,५०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार मात्रै मूल्य प्रतितोला १,१०० रुपैयाँले घटेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र गिरावट आएको छ। बिहीबार चाँदी प्रतितोला २२० रुपैयाँले घटेर ४,०३५ रुपैयाँ कायम भएको छ, जुन बुधबार प्रतितोला ४,२५५ रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार प्रतितोला ४,४४० रुपैयाँ रहेको चाँदीको मूल्य चार दिनको यस अवधिमा कुल ४०५ रुपैयाँले घटेको महासंघले जनाएको छ।




