लन्डन, असोज २८ । लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमद्वारा आयोजित यस वर्षको प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको मुख्य उपाधि इटालीका फोटोग्राफर फेडरिको भेरोनेसीले जितेका छन्।
नामिबियाको हुआब रिभर भ्यालीमा खिचिएको एक पोथी हात्तीले आफ्नो मृत छावालाई दाह्रा र सुँडको बीचमा च्यापेर हिँडिरहेको यो मार्मिक तस्बिर विश्वभरका १२१ देशबाट प्राप्त ६५ हजारभन्दा बढी प्रविष्टिहरूमध्ये सर्वोत्कृष्ट चुनिएको हो। निर्णायक मण्डलकी अध्यक्ष क्याथी मोरानले यस तस्बिरलाई भावना र बौद्धिकताको संगम भन्दै हात्तीहरूमा पनि शोक बुझ्ने चेतना र चेतना शक्ति हुन्छ भन्ने दरिलो प्रमाण भएको बताएकी छन्।
प्रतियोगिताअन्तर्गत ‘यङ वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ को उपाधि जिम्बाब्वेमा बस्ने १४ वर्षीय बेलायती फोटोग्राफर ओस्कर ह्विटफिल्डले हात पारेका छन्। उनले गोबरको डल्ला घचेड्दै गरेको गोबरै कीराको ‘ब्ल्याक एन्ड ह्वाइट’ तस्बिर खिचेका थिए।
निर्णायक मण्डलका सदस्य ज्यास्पर डोइस्टका अनुसार यस्तो सानो र निरन्तर हलचल भइरहने कीराको यति स्पष्ट तस्बिर खिच्नु निकै चुनौतीपूर्ण कार्य हो र यसले मानिसहरूले ध्यान नदिने प्रकृतिको एउटा महत्त्वपूर्ण पाटोलाई उजागर गरेको छ।यस वर्षको प्रतियोगितामा रातमा प्राकृतिक चमक दिने च्याउका साथै सहरिया वन्यजन्तु र वातावरणीय अवस्था दर्साउने विविध उत्कृष्ट तस्बिरहरू पनि पुरस्कृत भएका छन्। विजेता तस्बिरहरूलाई लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीमा राखिनुका साथै बेलायतसहित अन्तर्राष्ट्रिय स्तरमा भ्रमण प्रदर्शनी समेत गराइनेछ।




