काठमाडौं, असोज २२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज रातभर मतदान नगराइने भएको छ।
मतपत्र छपाईमा केही ढिलाइ भएका कारण निर्धारित समयमा निर्वाचन सुरु गर्न नसकिए पनि अहिले सम्पूर्ण मतपत्र छापेर आइपुगेको र अन्य सम्पूर्ण प्राविधिक व्यवस्थापन तयार भइसकेको निर्वाचन समितिले जनाएको छ। तथापि, रातिको समयमा मतदान गराउँदा पर्न सक्ने व्यावहारिक असजिलो, सम्भावित प्रतिकूल मौसम र पार्टी नेतृत्वको आग्रहलाई ध्यानमा राख्दै भोलि असोज २३ गते बिहान ठीक ७:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म मात्रै मतदान गराउने निर्णय गरिएको छ।
ज्येष्ठ मतदाताबाट सुरु हुने सो मतदानका लागि आज तय गरिएकै मतदान केन्द्रहरू यथावत् रहनेछन्। यसरी महाधिवेशनको समय एक दिन लम्बिएपछि काठमाडौँमा रहेका महाधिवेशन प्रतिनिधिहरूलाई आर्थिक भार नपरोस् भनेर थप एक दिनको बसोबास तथा खानपिन खर्च पार्टीले नै व्यहोर्ने भएको छ।
कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत असोज २२ गतेभित्रै महाधिवेशन सम्पन्न गर्ने लक्ष्य रहे पनि निर्वाचन तालिका सरेकाले प्रतिनिधिहरूको थप एक दिनको सम्पूर्ण खर्च पार्टीले व्यवस्थापन गर्ने जानकारी दिएका हुन्।





