काठमाडौं, असोज २२ । नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३ औँ कृति अवार्ड्स ०८३ को औपचारिक उद्घाटन ‘कृति इग्नाइट’ कार्यक्रममार्फत गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित कार्यक्रममा विज्ञापन तथा सञ्चार क्षेत्रका साथै विभिन्न उद्योग तथा व्यवसाय क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जनशीलता, व्यावसायिक उत्कृष्टता र योगदानलाई सम्मान गर्दै आएको कृति अवाड्र्सको यस वर्षको संस्करणलाई थप व्यापक र समावेशी बनाउने गरी विभिन्न व्यावसायिक तथा सञ्चार क्षेत्रका संस्थाहरूलाई समेत जोडिएको आयोजकले जनाएको छ ।
अवार्ड्सलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सरकारको विज्ञापन बोर्डले समर्थन गरेका छन् । त्यस्तै, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपाल यस वर्षदेखि कृति अवार्ड्सका सह–आयोजकका रूपमा सहभागी भएका छन् ।
आयोजकका अनुसार यस वर्ष कृति अवार्ड्समा आनका सदस्यसँगै गैर–सदस्यका लागि समेत मनोनयन खुला गरिएको छ । विभिन्न व्यावसायिक संघसंस्था तथा सञ्चार क्षेत्रका संस्थाहरूको सहभागिताले नेपाली विज्ञापन तथा सञ्चार उद्योगमा सिर्जनशीलता र व्यावसायिक उत्कृष्टताको प्रवद्र्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिजुअल प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा आनका पूर्वअध्यक्ष, कृति अवार्ड्सका प्रवद्र्धक तथा मिडिया एलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकारले स्वागत मन्तव्य दिएका थिए ।
त्यस्तै, १३ औँ कृति अवार्ड्सका शीर्ष प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिवाल तथा विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । आनका अध्यक्ष सुदीप थापाले कार्यक्रमका सहभागी तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कृति अवार्ड्स २०८३ अन्तर्गत नेपाली विज्ञापन तथा सञ्चार क्षेत्रमा सिर्जना भएका उत्कृष्ट काम तथा उल्लेखनीय योगदानलाई विभिन्न विधामार्फत सम्मान गर्ने प्रक्रिया अघि बढ्ने आयोजकले जनाएको छ । आयोजकले कृति अवार्ड्सलाई नेपाली विज्ञापन तथा सञ्चार उद्योगमा सिर्जनशीलता र उत्कृष्टताको पहिचान तथा प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।




