काठमाडौं, असोज २३ । काठमाडौंमा नेपाल विज्ञापन संघ (आन) द्वारा आयोजित ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ को उद्घाटन सत्र “कृति इग्नाइट” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन समारोहमा विज्ञापन तथा आम सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, उद्योगी र व्यवसायीहरूको सहभागिता रहेको थियो।
यस वर्षको अवार्डलाई नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्श र विज्ञापन बोर्डको समर्थन रहेको छ भने ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, अकोर्राब, रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल सह-आयोजकका रूपमा जोडिएका छन्।
यस संस्करणमा आनका गैर-सदस्यहरूका लागि पनि मनोनयन खुला गरिएको छ, जसले विज्ञापन उद्योगमा संस्थाको नेतृत्वदायी भूमिकालाई अझ फराकिलो बनाएको छ। आनका अध्यक्ष सुदीप थापाको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकर, शीर्षक प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।




