उदयपुर, असोज २३ । जिल्ला उदयपुरको त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् ।
असोज २३ गते बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै गरेको पानी बोकेको को.प्र.०५-००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५-००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा त्रियुगा नगरपालिका-११ बस्ने शिव कुमार सदाको छोरी २ वर्षीया रागिनी सदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, ७० वर्षीया कन्नि सदा घाइते भएकी छन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घटनापछि दुवै सवारीसाधन र चालक नियन्त्रणमा रहेका छन् । सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ ।




