काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ। यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो।
केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जनाएको छ। मतदान केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लाग्नु र एक जनालाई मतदान प्रक्रिया पूरा गर्न कम्तीमा आधा घण्टा लाग्ने भएपछि समय थप गरिएको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्। नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत पदमा नेतृत्व चयन गर्नुपर्नेछ। विभिन्न २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले मतदान प्रक्रिया लामो भएको बताइएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय साँझ ५ बजेसम्म थप गरिएको जानकारी दिएका हुन्।




