काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहमा ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले पहिलो मतदान गरेका छन्।
असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज असोज २३ गते बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो। निर्वाचन समितिका अनुसार मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन्। खराब मौसम, प्राविधिक समस्या तथा मतपत्र छपाइमा ढिलाइ भएपछि हिजोका लागि तय गरिएको मतदान आज बिहानका लागि सारिएको थियो।
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गर्ने तयारी गरेको जनाएको छ। यसैबीच, महाधिवेशन प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ र खानाको खर्च पार्टीले नै बेहोर्ने जनाइएको छ।
यस महाधिवेशनबाट विधान संशोधन गरी २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ। सभापतिसहित विभिन्न पदमा प्रतिस्पर्धा भइरहेकाले नयाँ नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ।




