काठमाडौं, कात्तिक १३ । बहुप्रतीक्षित नेपाली चलचित्र ‘बाटुलो जुन’को शीर्षगीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अभिनेता अनमोल केसीलाई युवावस्थाका भुवन केसीको रूपमा प्रस्तुत गरिएको छ। गीतमा अनमोल र प्रिन्सी खतिवडाबीचको प्रेम, रोमान्स र भावनात्मक सम्बन्धलाई सुन्दर ढंगले देखाइएको छ।
मिठासपूर्ण संगीत, भावुक शब्द र प्रेमिल दृश्यले गीतलाई आकर्षक बनाएको छ। विशेषगरी युवावस्थाको प्रेमकथालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको गीतले दर्शकको ध्यान खिच्ने देखिन्छ।
चलचित्रमा प्रिन्सी खतिवडासँगै न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेयर राई, श्वेता मिश्र, सुजन भाइ, सबिन कट्टेल, सिद्धार्थ सिंह, अमितेश शाह, हिना नागरकोटी र संगी अधिकारी पोखरेललगायत कलाकारको अभिनय रहेको छ भने अहिलेसम्म लुकाइएकी पात्र गरिमा पन्तलाई यस गितमार्फत सार्वजनिक गरिएको छ ।
चलचित्रको कथा समीप्यराज तिमल्सिना, सरिन पोखरेल र काजल केसीले तयार पारेका हुन् भने पटकथा समीप्यराज तिमल्सिना र सरिन पोखरेलको रहेको छ। प्रदीप श्रेष्ठ सहायक निर्देशक रहेको चलचित्रमा विक्रम स्वाँर र कबिराज गहतराजको कोरियोग्राफी छ। भिएफएक्सको काम मोसन स्टुडियोले गरेको हो।
चलचित्र आगामी कार्तिक २६ गते (नोभेम्बर १२)देखि प्रदर्शनमा आउनेछ। शीर्षगीतले चलचित्रको प्रेमिल र भावनात्मक कथावस्तुबारे दर्शकमाझ थप उत्सुकता जगाएको छ।




