काठमाडौं, कात्तिक १२ । देशको पहिलो सुरुङमार्गको रूपमा सञ्चालनमा आएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल ट्याक्स) तिर्नुपर्ने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको मितिदेखि शुल्क संकलन सुरु हुने जानकारी गराएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको आकार र क्षमताका आधारमा काठमाडौं प्रवेश गर्ने र बाहिरिनेतर्फ फरक-फरक शुल्क दर कायम गरिएको छ।
सुरुङमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई चारवटा वर्गमा विभाजन गरी शुल्क निर्धारण गरिएको छ, जसमा हलुका सवारीसाधन (कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रोबस) का लागि काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ। यसैगरी, मिनी बस, मिनी टिपर तथा मिनी ट्रकका लागि प्रवेश गर्दा ११५/१२५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रक (सिङ्गल रियर एक्सल) का लागि प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मल्टी एक्सेलग्रुपका ट्रक, अन्य ठूला सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा सबैभन्दा बढी ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क लाग्नेछ। यो सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रा निकै सहज बनेको भए पनि अब तोकिएको मितिदेखि चालकहरूले सवारीको वर्गअनुसार अनिवार्य रूपमा तोकिएको दस्तुर बुझाएर मात्र यात्रा गर्नुपर्नेछ।




