काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज दिउँसो २ बजे आयोजना हुने समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। त्यसपछि उनीहरूलाई प्रमाणपत्र वितरण गरी पदबहाली गराइने निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ लिनेछन्। सभापति गगनकुमार थापाले यसअघि असोज ३१ गते नै शपथ ग्रहण गरिसकेका छन्।
निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले यसपटकको शपथ ग्रहण कार्यक्रम विगतभन्दा फरक ढाँचामा आयोजना गरिने जानकारी दिएका छन्। शपथ ग्रहणसँगै आजै नयाँ कार्यसमितिको पदबहालीसमेत गराइनेछ।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। सभापतिको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो भने अन्य पदको मतगणना सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भएको थियो।
१४औँ महाधिवेशनमा करिब चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको सदस्य सचिव कटुवालले बताएका छन्। उनका अनुसार यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो।
महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।
शपथ ग्रहण र पदबहालीपछि आजै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तालाई धन्यवाद दिने प्रस्तावलगायतका विषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी, बैठकमा पार्टीका आगामी राजनीतिक गतिविधि तथा जिल्ला र प्रदेश अधिवेशनका विषयमा समेत छलफल हुने नेताहरूले बताएका छन्। नयाँ कार्यसमितिको पदबहालीसँगै कांग्रेसको आगामी संगठनात्मक दिशा र नेतृत्वको कार्यशैलीबारे चासो बढेको छ।




