काठमाडौं, कात्तिक १० । चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोशी नदीको जलाधार क्षेत्रमा वर्षा भई नदीको जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको प्रारम्भिक बाढी–पहिरो तथा अन्य जलविज्ञान जोखिम आकलनअनुसार आगामी दिनमा विभिन्न नदीमा जलसतह बढ्ने सम्भावना रहेको हो।
महाशाखाका अनुसार कात्तिक ११ गते देशभरका प्रमुख नदीहरूमा जलसतह सामान्य अवस्थामा रहनेछ। कात्तिक १२ गते नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा नदीको जलसतह सामान्य बढ्न सक्ने भए पनि जोखिम न्यून रहने अनुमान छ।
कात्तिक १३ गते नारायणी, कोशी र तिनका शाखा नदीहरू, बागमती, कमला, तिनाउ तथा आसपासका जलाधारमा मध्यमदेखि भारी वर्षाका कारण नदीको जलसतह उल्लेख्य बढ्न सक्ने महाशाखाले जनाएको छ। महाकाली, कर्णाली, पश्चिम राप्ती, बबई तथा तिनका शाखा नदीहरूमा भने जलसतह सामान्य मात्र बढ्ने सम्भावना छ। यस दिन बाढीको जोखिम मध्यम रहने अनुमान गरिएको छ।
त्यस्तै, कात्तिक १४ गते नारायणी, कोशी, बागमती, कमला तथा आसपासका जलाधारमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। अघिल्ला दिनको वर्षाका कारण प्रमुख नदीहरूमा जलसतह उच्चतम बिन्दुमा पुग्न सक्ने भए पनि सतर्कता तह आसपाससम्म मात्र पुग्ने देखिएको महाशाखाले जनाएको छ। यस दिन पनि बाढीको जोखिम मध्यम रहने अनुमान छ।
कात्तिक १५ गते कोशी, बागमती तथा नारायणी जलाधारका केही स्थानमा हल्का वर्षा हुन सक्ने र बाढीको जोखिम न्यून रहने पूर्वानुमान गरिएको छ।
महाशाखाले सम्भावित वर्षा र नदीको जलसतहमा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। वर्षाको अवस्था र बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा लिन तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।




