काठमाडौँ, ७ मंसिर ।
देशभरबाट १६५ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार ७८ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । २५ ठाउँमा अगाडि रहेको नेपाली काँग्रेसले २९ वटा निर्वाचन क्षेत्रमा जीत निकालेको छ । नेकपा एमालेले २९ ठाउँमा अग्रता कायम राख्दै १७ ठाउँमा जीत दर्ता गरेको छ ।
बिहीबार दिउँसो १ः४५ बजेसम्म प्राप्त जानकारीअनुसार नेकपा माओवादी केन्द्रले ९ ठाउँमा मतगणनामा अग्रता कायम गर्दै ८ ठाउँमा जीत दर्ता गरेको छ । नेकपा एकीकृत समाजवादीले ३ ठाउँमा अग्रता कायम राख्दै ७ ठाउँबाट जित दर्ता गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३ ठाउँमा अग्रतासहित ६ ठाउँमा जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ ठाउँमा अग्रता कायम राख्दै ३ ठाउँबाट जित दर्ता गराएको छ ।
जनता समाजवादी पार्टीले ५ ठाउँमा अग्रता कायम राख्दै १ ठाउँबाट जित दर्ता गराएको छ । लोकतान्त्रिक समाजवादीले पार्टी १ ठाउँमा अग्रता कायम राख्दै २ ठाउँबाट जित दर्ता गराएको छ । नागरिक उत्थान पार्टीले १ ठाउँमा अग्रता कायम राख्दै १ ठाउँबाट जित दर्ता गराएको छ । स्वतन्त्रसहित अन्यले ४ ठाउँमा जित निकाल्दै ५ ठाउँमा मतगणनामा अगाडि देखिएका छन् ।
प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै ५ लाख २३ हजार ७३५ मत ल्याएको छ । नेपाली काँग्रेसले ४ लाख ८४ हजार ३६४ मत ल्याएको छ । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ६८ हजार ३५९ मत ल्याउँदा नेकपा माओवादी केन्द्रले २ लाख ४१ हजार ५०५ मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३९ हजार २०४ मत ल्याउँदा जनता समाजवादी पार्टीले ५८ हजार ९५६ र नागरिक उत्थान पार्टीले ३४ हजार ३५४ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीले ३३ हजार २३६ मत पाएको छ ।




