चितवन, २० मंसिर ।
२८ महिनाको ठेक्का समय रहेको पुलचोक–गोन्द्राङ सडक बिस्तारको काम सुस्त गतिमा अगाडि बढ्दा समयमै काम नसकिने पक्कापक्की भएको छ । ठेक्का अवधि सकिन ३ महिना मात्र बाँकी रहँदा ५८ प्रतिशतमात्र काम भएको छ । अर्थात् बाँकी ३ महिनामा ४२ प्रतिशत काम सम्पन्न हुनुपर्ने देखिन्छ, जुन सम्भव छैन ।
सडक निर्माणको जिम्मा इन्डो सगुन जेभी बुटवलले पाएको छ । निर्माण बजेट एक अर्ब बाह्र करोड रहेको छ । ५० मिटर चौडाइ रहने यस सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड हुनेछ ।
पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम धमाधम भइरहेको छ । गोन्द्राङ क्षेत्रबाट रफ्तारमा अघि बढेको काममा अहिले हाकिमचोकदेखि चौबीसकोठीसम्मको सडक बनाउनमा आयोजना केन्द्रित छ । यस क्षेत्रमा बेस र सवबेसका लागि काम भइरहेको आयोजनाले बताएको छ । अबको एक महिनामा चौबीसकोठीसम्मको सडक क्षेत्र कालोपत्रे हुने भनिएको छ ।
बजार क्षेत्रमा सडक विस्तारका लागि काम हुन लाग्दा साइट क्लियरेन्स नभएकाले काममा तीव्रता दिन नसकिएको आयोजनाका प्रमुख सहदेव खड्काले बताए ।
सडक मापदण्डभित्रको संरचना भत्काउने र आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने काम भएमा चालू आर्थिक वर्षभित्रमा सबै काम सक्ने लक्ष्य रहेको उनले बताए । सडक निर्माणमा अधिकरुपमा कच्चा पदार्थ आवश्यक पर्ने तर जिल्लामा कहीँकतै पनि त्यस्तो पदार्थ सहजरुपमा नपाइएको खड्काको गुनासो छ ।
‘बजार क्षेत्रका ३ दर्जनजति घरहरुको कुनै न कुनै भाग सडक क्षेत्रभित्र पर्छ, तर यहाँका बासिन्दा त्यो मापदण्ड मान्न तयार देखिन्नन्’, खड्काले भने ।
सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले ६ लेन सडकभित्र मापदण्डमा पर्ने घरहरु भत्काउनका लागि सूचना जारी गरिएको जानकारी दिए । ‘मंसिर २१ गते बुधबारबाट सम्बन्धित गुनासोकर्ता घरधनीहरुलाई भेटेर सम्झाउने र बुझाउने काम हुन्छ’, प्रमुख पौडेलले भने, ‘नत्र नियमअनुसार अघि बढ्न कुनै बाधा पर्नेछैन ।’
उनका अनुसार यस सडक क्षेत्रमा ५७ वटा घर तथा टहराहरु मापदण्डभित्र पर्ने देखिन्छ । ‘सडकको मापदण्ड अर्थात् बीच भागबाट २५ मिटर दायाँबायाँ गर्दा छुने भौतिक संरचना भत्काउन आग्रह गरिएको छ, नत्र सडक कार्यालयले भत्काउनुपर्ने हुन्छ’, उनले भने ।
सडक डिभिजनले सडकको मापदण्डभित्र पर्ने घर भत्काउनका लागि पटकपटक सूचना जारी गरेको छ । आयोजनाको काम सुरू हुनुदेखि नै ताकेता गरे पनि काम नभएको तर केहीले भने सूचनाअनुसार स्वतः घर भत्काएका छन् ।




