काठमाडौँ, २४ मंसिर ।
अर्जेन्टिना फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ । कतारमा भएको क्वाटरफाइनलमा नेदरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो ।
खेलको ३५औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो ।
बाहिरियो ब्राजिल
विश्वकप २०२२ को यात्राबाट अप्रत्यासित हार ब्यहोर्दै ब्राजिल बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा क्रोएसियासँग टाइब्रेकरमा हार व्यहोरेपछि ब्राजिलको यसपटकको विश्वकप यात्रामा ब्रेक लागेको हो ।
दोस्रो पटक एसियामा विश्वकप हुँदा २० वर्षको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्य राखेको ब्राजिलको चाहना यस पटक पूरा हुन सकेन । सन् २००२ मा पहिलो पटक एसियामा विश्वकप हुँदा ब्राजिलले पछिल्लो पटक उपाधि जितेको थियो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा ब्राजिलले जर्मनीलाई २(० ले हराएर च्याम्पियन बनेको थियो ।
त्यसपछि हरेक संस्करणमा उपाधि दाबेदार बने पनि ब्राजिल फाइनलसम्म पनि पुग्न सकेको छैन । अझ रमाइलो संयोग त के छ भने त्यसपछिका हरेक विश्वकपको नकआउट चरणमा ब्राजिल युरोपियन टिमसँग नै पराजित हुँदै बाहिरिएको छ ।
२००२ यता पाँचै विश्वकपमा ब्राजिल युरोपको टिमसँग पराजित हुँदै बाहिरिएको हो । २०१४ मा त आफैं आयोजक हुँदा ब्राजिल सेमिफाइनलमा जर्मनीसँग ७(१ ले पराजित भएको थियो भने तेस्रो स्थानको खेलमा पनि नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
क्रोएसियासँग क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित भएपछि ब्राजिल घर फर्कने पक्का भएको छ । चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको थियो । त्यो बेला ब्राजिल बेल्जियमसँग पराजित भएको थियो ।
यस समूह चरणको सुरुआती दुई खेल जित्दै एक खेल अगावै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको थियो । दोस्रो रोजाइँको टिम खेलाउँदा अन्तिम खेलमा क्यामरुनसँग पराजित भए पनि अन्तिम १६ को खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४(१ ले हराएर आफ्नो दाबेदारीलाई कायम राखेको थियो । हरेक विपक्षीका लागि ब्राजिल चुनौतीको रुपमा खडा थियो ।
तर सर्वाधिक पाँच पटकको च्याम्पियन ब्राजिलले क्वाटरफाइनल समेत पार गर्न सकेन ।
‘क्रोएसियाका कप्तान लुका मोडरिचको भनाइ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ,’ क्वाटरफाइनल खेलअघि उनले भनेका थिए, ‘निश्चय पनि, ब्राजिल फेभरेट टिम हो । फेभरेटले पनि हार्छ ।’
१२० मिनेट र ८ पेनाल्टीसुट प्रहारपछि मोडरिचको भनाई सही सावित भएको छ भने ब्राजिल अधुरो सपना लिएर घर फर्कने पक्का भएको छ । ब्राजिलको लागि क्रोएसियाविरुद्ध खेलपछि सम्झने कुरा एउटै रह्यो ।
नेमारले एक गोल गर्दै महान खेलाडी पेलेको नाममा रहेको ब्राजिलका लागि सर्वाधिक गोल गर्ने ७७ गोलको कीर्तिमान बराबरी गरे । तर अर्को दुसखद के रह्यो भने उनै नेमार पेनाल्टी सुटआउटमा पेनाल्टी हान्न नपाइ बाहिरिए । अन्तिममा पेनाल्टी हान्न बसेका नेमार आफ्नो पालो नआइ ब्राजिल आउट भएर तथ्य स्वीकार गर्न बाध्य भए ।




