काठमाडौँ २६ मङ्सिर
हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन्।
सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो।
आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी कारागारबाट छुट्ने प्रतिक्रिया मिडियालाई दिएकी थिइन्।
अहिले डिल्लीबजार कारागार अगाडि सडकमा रेशम चौधरीका कार्यकर्ता पार्टीका झन्डा र फूलमालासहित उपस्थित भएका छन्। डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ।
टीकापुर हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका चौधरी विगत पाँच वर्षदेखि कारागारमा छन्। हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा उनको पार्टीले तीन र स्वतन्त्र एक गरी चार सिट जितेको छ।
नयाँ बन्ने सरकारलाई समर्थन गर्न चौधरीले आफूमाथिको मुद्दा फिर्ताको माग राख्दै आएका छन्।




