भरतपुर, २६ मंसिर
भरतपुरमा बिहे भोज खाएका पाँच सय जना एक साथ बिरामी भएका छन् । भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट (सिजिआर) मा शुक्रबार बिहे भोज खाएका जन्तीहरु बिरामी भएका हुन् ।
गैंडाकोट नगरपालिका १ का गणेश ढकाल र भरतपुर १० हाकिमचोककी करिश्मा अधिकारीको ‘सिजिआर’मा विवाह भएको थियो । भोज खाएर बिरामी भएकामध्ये केही भरतपुरस्थित नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । दुलाहाका साथी गैंडाकोट १ का सविन लम्सालका अनुसार उक्त दिन करिब पाँच सय जनाले सामुहिक रुपमा बिहे भोज खाएका थिए । उनीहरुमध्ये सबै जना बिरामी परेको लम्सालले बताए ।
लम्साल आफै पनि बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । भोज खाएको भोलिपल्टदेखि ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पखाला हुने जस्ता समस्या देखिएको उनले बताए । ‘खाना खाने पाँच–छ सय जना थियौं । भोलिपल्टदेखि नै ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, पखाला हुने जस्ता समस्या देखियो’, उनले भने । सिजिआर रिसोर्टले सेवाग्राहीको स्वास्थ्यमाथि खेलवाड गरेको उनको आरोप छ ।
दुलही पक्षबाट भोजमा सहभागी भरतपुर ९ की गोमा अधिकारीले बिहेमा सहभागी भएका टोलका सबै जना बिरामी परेको बताइन् । ‘२३ गते एक जना नानीको बिहेमा गएका थियौँ । पाार्टीमा गएका सबै टोलका सबै जना हामी बिरामी भएका छौँ ।’ भोज खाएपछि ज्वरो आउने शरीर दुख्ने र पखाला हुने जस्तो समस्या भएको बताइन् । उनी पनि नेशनल सिटी अस्पतालमा भर्ना भएकी छन् । घरमै औषधी सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना भएको उनले बताइन् । व्यावसायिक नाफाको लागि होटलले सेवाग्राहीको स्वास्थ्यमा खेलवाड गरेको उनको भनाइ छ ।
अस्पतालका डा. मिलन कँडेलले बिरामीहरुमा मास फुड पोइजनिङको लक्षण देखिएको बताए । खानामा अखाद्य बस्तु मिसिन जाँदा यस्तो समस्या हुने उनले बताए । उनका अनुसार बिरामीहरुमा प्रेसर बढ्ने समस्या पनि देखिएको छ ।




