काठमाडौँ, २७ मंसिर ।
आजको रात अर्थात् मंगलबारको मध्यरात । हुनेछ महाभिडन्त मेसी र मोड्रिचबीच । विश्वकप फुटबलको पहिलो सेमीफाइनल खेलमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना र लुका मोड्रिचको कप्तानीमा रहेको क्रोएसियाबीच महाभिडन्त हुन लागेको हो । यो महाभिडन्तको नतिजाले मेसी वा मोड्रिचको टिमलाई फाइनल पु¥याउनेछ ।
दुई घन्टाभन्दा बढी चलेका सनसनीपूर्ण खेलपछि पेनाल्टी सुटआउटमा जित हात पारेका दुई टिम अर्जेन्टिना र क्रोएसियाबीच विश्वकप २०२२ को पहिलो सेमिफाइनल लुसेल रंगशालामा हुँदैछ । कतार संस्करणमा दर्शकमाझ सबैभन्दा लोकप्रिय टिम अर्जेन्टिना नै हो । यसको मुख्य कारण पनि मेसी नै हुन् । ब्राजिलको यात्रा क्वाटरफाइनलमै सकियो ।
सबैभन्दा बढी समर्थक भएको र रंगशालामा माहोल तताएको अर्को टिम बनेको छ मोरक्को । सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले फाइनल प्रवेशका लागि बुधबार अल बायत रंगशालामा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग दोस्रो सेमीफाइनले खेलमा सामना गर्दै छ ।
उपाधि जित्ने दाउ
फुटबलले पाएको सर्वकालीन महान् खेलाडीमध्येका एक मेसी पाँचौं प्रयासमा पहिलोपल्ट विश्वकप उपाधि जितेर आफ्नो करिअर सार्थक पार्न चाहन्छन् । उनको टिम विश्वविजेता नभएको पनि ३६ वर्ष भइसकेको छ । उनलाई विश्वकप ट्रफीले सन् १९८६ को च्याम्पियन डिएगो म्याराडोनाको स्तरमा उभ्याउन सक्छ ।
पहिलो खेलमै साउदी अरेबियाविरुद्ध अनपेक्षित हार बेहोरेपछि ३५ वर्षीय मेसीकै उत्कृष्ट प्रदर्शनमा मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र नेदरल्यान्ड्सको चुनौती पन्छाउँदै अर्जेन्टिना सेमिफाइनमा उभिएको हो । मेसी चार गोलसहित गोल्डेन बुटको होडमा फ्रान्सका केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि छन् ।
लुकाको लोभलाग्दो लय
रुसमा गोल्डेन बल अवार्ड जितेका प्लेमेकर लुका मोड्रिचले ३६ वर्षको उमेरमा पनि उत्कृष्ट लय कायमै राखेपछि क्रोएसिया समूह चरणमा मोरक्को र बेल्जियमविरुद्ध गोलरहित खेले पनि क्यानडालाई ४–१ ले हराएर अगाडि बढेको थियो । उसले अन्तिम १६ मा जापान र क्वाटरफाइनलमा ब्राजिललाई पछाडि परेको स्थितिमा गोल गरेर बराबरी गर्दै टाइब्रेकरमा जित हात पारेको थियो । अपत्यारिलो किसिमले मिडफिल्डमा छाउने गरेका मोड्रिच र कुनै पनि बेला खेलको नतिजा उल्टाउन सक्ने मेसीको प्रतिस्पर्धा पनि हुनेछ पहिलो सेमिफाइनल ।
रेफ्रीले १८ वटा कार्ड देखाएको अन्तिम आठको प्रतिस्पर्धामा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । क्रोएसियाले कीर्तिमान पाँचपल्टको च्याम्पियन तथा यसपालि प्रतियोगितापूर्व सबैभन्दा बलियो मानिएको ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काइदियो ।
विगतको रोचक भेट
दुईपल्टको च्याम्पियन अर्जेन्टिना र क्रोएसियाबीच विश्वकपमा विगत भेट पनि रोचक छ । दुवैले एक–एक खेल जितेका छन् । अर्जेन्टिनाले सन् १९९८ को विश्वकपको समूह चरणको भेटमा १–० को जित हात पारेको थियो भने क्रोएसियाले मेसीको टिमलाई रुस ९सन् २०१८० मा ३–० ले हराएको थियो ।
यी दुईवीच भएका पाँच अन्तर्राष्ट्रिय खेलमा दुवैले दुई–दुई खेल जितेका छन् । एक खेल बराबरीमा टुंगिएको छ । यी तथ्यांकले पनि अर्जेन्टिना–क्रोएसियाको प्रतिस्पर्धा रोमान्चक हुने संकेत गर्छ र अर्जेन्टिनाको घरेलु मैदानजस्तै भएको लुसेलमा मंगलबारको खेल पनि आकर्षक र स्तरीय हुने अपेक्षा गरिएको छ । लुका मोड्रिचले पनि गोल गरेका निज्नी नोभ्गोरोद ९रुस० को खेलपछि यी दुई टिम पहिलोपल्ट भिड्न लागेका हुन् ।
युरोपेली टिम क्रोएसिया तेस्रोपल्ट सेमिफाइनलमा पुगेको हो । टोलीले २४ वर्षअघि आयोजक फ्रान्सविरुद्ध २–१ को हार बेहोरेको थियो भने २०१८ को संस्करणमा इंग्ल्यान्डमाथि अतिरिक्त समयमा २–१ को जित हात पारेको थियो । तर, विश्वविजेता बन्ने क्रोएसियाको सपनालाई मस्कोमा फ्रान्सले फाइनल ४–२ ले जितेर तुहाइदिएको थियो ।
अर्जेन्टिनाले यसअघि खेलेका चारै सेमिफाइनल जितेको छ । यसक्रममा दक्षिण अमेरिकी महारथीले अमेरिकालाई ६–१ ९सन् १९३००, बेल्जियमलाई २–० ९१९८६०, इटालीलाई १–१ को बराबरीपछि टाइब्रेकरमा ४–३ ९१९९०० र नेदरल्यान्ड्सलाई गोलरहित बराबरीपछि टाइब्रेकरमा ४–२ ९२०१४० ले हराएको थियो ।
केही रोचक तथ्य
अर्जेन्टिनाले पछिल्ला ४१ खेलमा एक खेलमात्रै हारेको छ भने २८ जित र १२ खेल बराबरी गरेको छ । अर्जेन्टिनाले विश्व्कपमा युरोपेली टिमविरुद्ध नकआउटमा पछिल्लोपल्ट खेलेका १४ मध्ये आठ खेल अतिरिक्त समयमा पुगेर टुंगिएको छ । लियोनल मेसीले क्रोएसियाविरुद्ध खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेलेका जर्मनीका लोथर म्याथ्युजको कीर्तिमान बराबरी गर्नेछन् ।
क्रोएसियाले विश्वकपमा पछिल्ला १२ खेलमध्ये एक खेलमात्रै हारेको छ भने ५ जित र ६ खेल बराबरी गरेको छ । क्रोएसियाले विश्वकपको नकआउट चरणका दसमध्ये आठ खेल जितेको छ । विश्वकपको नकआउट चरणमा क्रोएसियाले खेलेका ६ खेलमध्ये पाँच खेल अतिरिक्त समयसम्म पुगेर टुंगिएको थियो ।
एजेन्सीको सहयोगमा




