चितवन, २७ मंसिर ।
भरतपुरस्थित चितवन गार्डेन रिसोर्ट (सिजिआर) मा भोज खाएकाहरु सामुहिक रुपमा बिरामी परेपछि अनुगमन टोलीले होटलको अनुगमन गरी रिसोर्टलाई ‘सिल’ गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुर, स्वास्थ्य कार्यालय, भरतपुर महानगर–पालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी–सहितको टोलीले मंगलबार होटलको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा उपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु होटलमा भण्डारण गरेर राखेको भेटिएको सहायक प्रजिअ शर्माले बताए । होटलको भान्सालाई प्रदुषणमुक्त बनाउनका लागि स्वचालित ढोका नभएको, मासु राख्नका लागि डि फ्रिजको तापक्रम न्युनतम माइनस १८ हुनुपर्नेमा माइनस ३ मात्रै पाइएको पनि उनले जानकारी दिए । अनुगमनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र त्यसपछि थप प्रक्रिया अघि बढाइने उनले बताए ।
मंगलबार साँझ होटललाई सिल गरी होटल सञ्चालकलाई बुधबार प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रजिअ शर्माले बताए ।
रिसोर्टमा विवाहको भोज खाएका तीन सयभन्दा बढी एकैसाथ बिरामी भएका छन् । मंसिर २३ गते रिसोर्टमा भोज खाएका उनीहरु एकैसाथ बिरामी भएका हुन् ।
नवलपुरको गैंडाकोट नगरपालिका १ का गणेश ढकाल र भरतपुर १० हाकिमचोककी करिश्मा अधिकारीको सिजिआरमा विवाह भएको थियो । विवाहमा भोज खाएकामध्ये केहीलाई सोही दिनबाट समस्या देखिएको थियो । केहीलाई भोलिपल्टबाट समस्या देखिएको भोजमा सहभागीहरुले बताएका छन् ।
बिरामीहरुमध्ये ३४ जना भरतपुरको नेशनल सिटी अस्पताल भर्ना भएका छन् । सोही अस्पतालका मात्रै १२ जना उक्त दिन वैवाहिक समारोहमा सहभागी भएका थिए । उनीहरुमध्ये १० जनामा समस्या देखिएको र पाँच जना अस्पतालमा भर्ना भएका छन् । अन्य केही अन्य अस्पतालहरुमा भर्ना भएका छन् भने केहीले घरमै बसेर औषधि सेवन गरिरहेका छन् ।
दुलाहा पक्षका ध्रुवप्रसाद सापकोटाले आफूलाई कामज्वरो आउने, पाखाला लाग्ने जस्ता समस्या देखिएको बताए । दुलाहाका साथी गैंडाकोट १ का सविन लम्सालका अनुसार उक्त दिन करिब पाँच सय जनाले सामुहिक रुपमा बिहेभोज खाएका थिए । उनीहरुमध्ये सबै जना बिरामी परेको लम्सालले बताए । दुलाहा र दुलहीलाई पनि पखाला लागेको लम्सालले बताए ।
भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका अस्पतालका डा. मिलन कँडेलले जानकारी दिए । खानामा अखाद्य बस्तु मिसिन जाँदा यस्तो समस्या हुने उनले बताए । उनका अनुसार बिरामीहरुमा प्रेसर बढ्ने समस्या पनि देखिएको छ ।




