काठमाडौँ, ६ पुस ।
नेपाली कांग्रेसको संसदीय दलको नेता छान्ने निर्वाचनमा सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री गगन थापाले आफू भावी सरकारमा सामेल नहुने बताएका छन् ।
संसदीय दलको नेता चयनको मतपरिणाम सार्वजनिक भए लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफ्नो समूहलाई थप मजबुत बनाउँदै लैजाने र सरकारमा आफू सामेल नहुने स्पष्ट पारे । ‘कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने अरु साथीहरु जानु हुन्छ । कांग्रेसको संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने मेरो सोच हो म त्यसमा लागिरहन्छु’, उनले भने, ‘म कांग्रेसको महामन्त्री पनि हुँ र सांसद पनि हुँ । त्यही रुपमा आफूले गर्नुपर्ने काम गरिरहन्छु ।’




