काठमाडौँ, १२ पुस ।
कार्यविधिविपरीत विभिन्न व्यक्तिहरुको सुररक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई ४८ घण्टाभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको हो ।
‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भइ हाल कार्यायन्वयनमा रहेको छ। उक्त कार्यविधिमा तोकिएअनुसार बहालवाला तथा पूर्व कर्मचारीरसुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यविधिमा व्यवस्था गरिएकोभन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ।’





