काठमाडौँ, १२ पुस ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २२ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर कांग्रेस सङ्घीय संसदको ठूलो दल बनेको छ । ठूलो दल भएर पनि कांग्रेस सरकार बनाउनबाट चुकेको छ । चुनावमा बनेको सत्ता गठबन्धनसमेत टुटेको छ ।




