काठमाडौँ, १४ पुस ।
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २९ गते विश्वासको मत लिने भएका छन् । पुस २५ गते प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषयमा छलफल भएको थियो । बैकठमा सहभागी एक नेताका अनुसार सो छलफलपछि प्रधानमन्त्री दाहालले पुस २९ गते विश्वासको मत लिनेबारे समझदारी भएको हो ।
नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल एमालेसहित सात दलीय गठन्धनको सहयोगमा गत आइतबार तेस्रो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले पुस २९ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।




