काठमाडौँ १६ फागुन
आगामी वर्ष श्रीलंकामा हुने यु–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गर्दै लगातार चौथो जित निकालेको छ। अब विश्वकप छनोटमा नेपालका लागि आयोजक युएईविरुद्धको अन्तिम खेल नै निर्णायक हुने भएको छ।
चौथो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै मलेसियाले नेपाललाई जितका लागि ७३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका स्पिनर दीपेश कँडेलले कसिलो बलिङ गरेपछि मलेसिया ३५.३ ओभरमा ७२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन बाध्य भयो।
युएईस्थित मलेका क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद साहिर सामल र मोहम्मद हाइरिल हरिसनले समान १२–१२ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।
नेपालका लागि दीपेश कँडेलले १० ओभरमा ११ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट लिए।
जवाफमा नेपालले मलेसियाले दिएको उक्त लक्ष्य ९ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि ओपनरहरु दिपक बोहोरा ३८ तथा अर्जुक कुमाल २१ रनमा नटआउट रहे। नेपालले १४ रन अतिरिक्त रनका रुपमा पाएको थियो।
नेपालका लागि यो लगातार चौथो जित हो । अब नेपालले पाँचौं र अन्तिम खेल हालसम्मकै बलियो प्रतिस्पर्धी मानिएको यूएईसँग बिहीबार खेल्नेछ ।




