काठमाडौं २१ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाई हुने भएको छ ।
युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो । आइतबार सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट पेस गरेका थिए । उनले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो ।
नेपाल प्रहरी, काठमाडौँ सरकारी वकिल कार्यालय र पाटन उच्च सरकारी वकिल कार्यालयको सिफारिसलाई महान्यायाधीवक्ताको कार्यालयले सदर गरेको थियो ।सर्वोच्च अदालतले लामिछानेको नागरिकता विवादको फैसला दिने क्रममा राहदानी ऐन अनुसार राहदानी प्रकरणको विवाद निरुपण हुनुपर्ने भनेकाले महान्यायाधीवक्तालाई निर्णय गर्ने अधिकार नरहेको जिकीर रिट निवेदनमा गरिएको छ ।




