काठमाडौँ ३ साउन
एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ३ विकेटले पराजित गरेको छ ।
श्रीलंकाको कोलोम्बोस्थित पी. सारा ओभलमा यूएई ‘ए’ ले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा सात विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरे।
उनले ४३ बलमा नौ चौका र चार छक्काको मद्दतले ७३ रन बनाए। त्यस्तै, देव खनाल र सन्दीप जोराले २४–२४ तथा गुल्सन झाले १५ रन बनाए।
यूएई ‘ए’का लागि मोहम्मद फराजुद्दिनले पाँच र मोहम्मद जवादुल्लाहले दुई विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको यूएई ‘ए’ले ४४ ओभरमा १५७ रन बनाएको थियो। यूएई ‘ए’ का लागि लवप्रित सिंहले ५२, इथान डिसुजाले १८, अश्वन्त भलथापाले १६, आर्यन्श शर्माले १४ र जस गिनानीले १२ रन बनाएका थिए।
नेपालका लागि कुशल भुर्तेलले ६, मौसम ढकालले दुई, कुशल मल्ल र पवन सर्राफले एक–एक विकेट लिएका थिए। भुर्तेल प्लेयर अफ द म्याच भए।
इमर्जिङ टीम्स कपमा नेपाल र यूएई प्रतियोगिताबाट बाहिरिइसकेका छन्। नेपाल रहेको समूह ‘बी’ बाट भारत ‘ए’ र पाकिस्तान ‘ए’ सेमिफाइनलमा पुगेका छन्। त्यस्तै, समूह ‘ए’ बाट श्रीलंका ‘ए’ र बाङ्लादेश ‘ए’ सेमिफाइनलमा पुगेका छन्।




