हाम्रो बारेमा
सूचना प्रविधिको द्रुत विकाससँगै संचारमाध्यममा पनि पछिल्ला वर्ष व्यापक विकास भएका छन् । पत्रकारिताको इतिहासमा कुनै बेला छापा माध्यमको दबदबा थियो । विस्तारै त्यसलाई रेडियोले चुनौति दियो । त्यसपछि रेडियोलाई टेलिभिजनले । सन् असीको दशकको अन्त्यसँगै विकास भएको इन्टरनेटले सञ्चारमा व्यापक उथलपुथल ल्यायो । अहिले छापा, रेडियो र टिभीजस्ता परम्परागत माध्यमहरुलाई इन्टरनेटमा आधारित अनलाइन न्यूज पोर्टलहरुले चुनौती दिइरहेका छन् । पछिल्लो समय पत्रकारितामा सबैभन्दा कान्छो माध्यमको रुपमा अनलाइन वा डिजिटल पत्रकारिता स्थापित हुँदै गएको छ ।
विश्वकै इतिहास पछ्याउँदै नेपालको पत्रकारिता पनि छापा माध्यम, रेडियो र टिभी हुँदै अनलाइन पत्रकारितामा आइपुगेको छ । सँगसँगै व्यापक हुन पुगेका समाजिक सञ्जालले पनि जनसञ्चारमा आफ्नै प्रभाव जमाएका छन् । नेपालमा सूचना प्रविधिको विकास र इन्टरनेटको पहुँच बढेसँगै अनलाइन संस्करणमा पाठक, श्रोता, दर्शकहरुको आकर्षण बढ्दै गएको छ । देशको जनसंख्याको झण्डै ८० प्रतिशतको पहुँचमा इन्टरनेट पुगेको सरकारी तथ्याङ्क मान्ने हो भने पनि अनलाइन समाचारले थप प्रभाव जमाउँदै जाने देखिन्छ । आफूले चाहेका समाचार, सूचना, शिक्षामूलक सामग्रीका साथै मनोरञ्जन समेत सहजै उपलब्ध हुने तथा पढ्ने, सुन्ने, हेर्ने सामग्रीसहित मल्टिमिडिया सुविधा एक माध्यमबाट पाइने भएकोले पनि अनलाइन सञ्चारमाध्यमको लोकप्रियता बढ्दै गएको हो ।
अनलाइन समाचारको लोकप्रियता बढेसँगै नयाँ अनलाइन खुल्ने क्रम पनि तीब्र छ । २ हजार ६ सयभन्दा धेरै अनलाइन सूचना विभागमा दर्ता भएका छन् । संख्यात्मक रुपमा अनलाइनको व्यापकता बढे पनि यिनीहरुको विश्वसनियतामाथि प्रश्नचिह्न उठ्न थालेको छ । यतिका धेरै अनलाइन पोर्टलहरु सञ्चालनमा आए पनि औंलामा गन्न सकिने पोर्टलहरुमात्र स्थापित हुन पुग्नुबाट पनि यो समस्यालाई उजागर गरेको छ ।
यिनै चुनौतीहरुबीच हामीले डिजिटल समाचारको दुनियाँमा फरक प्रस्तुतिमात्र होइन सत्यतथ्य समाचारको भावनालाई मूलमन्त्र मानी नवीन खबर डटकम सञ्चालन गरेका हौं । पत्रकारिताका मूलभुत सिद्धान्तहरु निर्भिकता, निष्पक्षता, सम्पादकीय स्वतन्त्रता, उत्तरदायित्वलाई शिरोधार्य गरी स्थानीय परिवेशदेखि विश्व परिप्रेक्षलाई समेटेर आवाजविहीनको आवाजलाई मुखरित गर्ने प्रयास गर्दैछौं । निगरानीको भूमिका सशक्त बनाउँदै समाचार, विचार, विश्लेषणमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण र खबरदारी गर्दै सभ्य समाज निर्माणको लागि सञ्चार क्षेत्रबाट थोरै भए पनि योगदान दिन सकियोस् भन्ने उद्देश्यले नवीन खबर डट कम सञ्चालनमा ल्याएका हौं । सञ्चार क्षेत्रमा लामो समयसम्म अनुभव सँगालेका व्यक्तिहरुको समुहद्वारा यसलाई सञ्चालन गरेका छौं ।
देश, विदेशका राजनीतिक, आर्थिक, सामाजिक, बिषयवस्तुलाई प्राथमिकतामा राखी आम पाठक, दर्शक, श्रोतालाई द्रुतरुपमा समाचार पस्कने प्रतिबद्धता हाम्रो छ । आगामी दिनमा यसका न्यूज पोर्टल प्रयोगकर्ताको रुची, प्रतिकृया र सुझावका आधारमा हामीले यहाँहरु समक्ष पस्कने सामग्रीहरुमा पनि सुधार र गुणस्तरीयतामा सुधार गर्दै जानेछौं । अनलाइन समाचारको भीडमा उदाएको यो न्यूजपोर्टल समाज परिवर्तनको लागि मार्गनिर्देशक बन्नेछ भन्ने विश्वास लिएका छौं । तपाईहरुको साथ, सहयोग र विश्वास सदैव प्राप्त हुने आशा हामीले लिएका छौं ।





