भरतपुर ८ पुस
नेपाली कांग्रेस चितवनले गत कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडितहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
नेपाली कांग्रेस चितवनले भूकम्प पीडितहरुको सहयोगार्थ आफ्ना क्रियाशील सदस्यहरुलाई सहयोग आव्हान गरेको थियो । उक्त अभियानमार्फत सङ्कलित दुई लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
बागमती प्रदेशद्वारा सुकेधारा काठमाडौँमा आयोजित प्रथम प्रदेश सम्मेलनमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले उक्त संकलित राहत रकम केन्द्रीय सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुको लागि पचास लाख रुपैयाँ सहयोग गरेको थियो ।
पूर्वसभापतिलाई सम्मान
नेपाली कांग्रेस चितवनका पूर्व सभापति एवं चितवन कांग्रेसका अभिभावक तोपमानसिंह गुरुङ सम्मानित भएका छन् । काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रथम सम्मेलनमा गुरुङलाई सम्मान गरिएको हो ।
नेपाली कांग्रेस चितवनमा संगठन निर्माण र पार्टी बलियो बनाउन क्रियाशील रहेका गुरुङलाई नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सम्मान गरेका हुन् । उनलाई सम्मानपत्रसहित नेपाली कांग्रेसको झन्डा अंकित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
तोपमानसिंह गुरुङ सम्मानित भएपछि नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बधाई ज्ञापन गरेका थिए ।




