काठमाडौँ २८ फागुन
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गरेका हुन्। कांग्रेसले जारी गरेको ह्वीपमा फागुन ३० गते बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री दाहालको विश्वासको मतको विपक्षमा मतदान गर्न भनिएको छ।
प्रमुख सचेतक लेखकले भनेका छन्, ‘२०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो ह्वीप जारी गरिन्छ।’
नयाँ सत्ता समीकरण बनेपछि कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिएको थियो। यससँगै प्रधानमन्त्री दाहाल फागुन ३० मा प्रतिनिधि सभाबाट विश्वासको मत लिंदै छन्।
अहिले गठबन्धनमा नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी छन्।
त्यस्तै, विपक्षमा कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत पार्टी छन्।




