काठमाडौं । नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड आगामी बुधबारदेखि दैनिक ५ घन्टा बन्द हुने भएको छ ।
उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्ड अन्यत्र भन्दा साँघुरो भएको र कालोपत्र गर्नका लागि एकै पटकमा धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने भएकाले केही समय सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।
उक्त सडक आगामी बुधबारदेखि दैनिक बिहान साढे १० बजेदेखि अपरान्ह साढे ३ बजेसम्म पाँच दिन बन्द हुनेछ । अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, सुरक्षा निकाय, दमकल, शववाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
अन्य सवारीसाधनलाई विभिन्न स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ । उक्त समय अवधिभित्र त्यस सडक भएर आवत जावत गर्ने सवारी साधनहरुलाई वैकल्पिक सडकमार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।




