धादिङ । बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक रूपमा बन्द गरी उस्तरोन्नति गरिँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने खुला रहने भएको छ।
उस्तरोन्नति अन्तर्गत दैनिक पाँच घन्टा आंशिक बन्द गरिँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलि ९शुक्रबार र शनिबार०का लागि पूर्णरूपमा खुला गरिने भएको छ। नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै शुक्रबार र शनिबार दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना कार्यालयले जारी कार्यतालिका अनुसार आज र भोलि सडक बन्द नहुने र त्यसपछि पुनः निर्धारित समयअनुसार काम अघि बढाइने जनाएको छ। आयोजनाका पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार महाधिवेशनका कारण दुई दिनका लागि छुट दिइए पनि काम रोकिएको छैन, अवशिष्ट काम भने तोकिएको तालिका अनुसार निरन्तर अघि बढाइनेछ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले मङ्सिर २४ गतेदेखि पुस १ गतेसम्म दैनिक बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म सडक आंशिक रूपमा बन्द गर्दै काम गरिरहेको थियो।
युवा सङ्घको टोलीले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भेट गरी महाधिवेशन अवधिमा सडक खुला राखिदिन आग्रह गरेको थियो।




