काठमाडौं । ऊर्जा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनियुक्त उपाध्यक्ष कुलमान घिसिङले हालै भएको पार्टी एकीकरण व्यक्तिगत लाभ वा राजनीतिक महत्वाकांक्षाभन्दा माथि जनताको इच्छा र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर गरिएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकीकरण घोषणा गर्दै घिसिङले यस कदमलाई देशलाई सही दिशातर्फ लैजाने निर्णायक प्रयासका रूपमा वर्णन गरेका छन्।
उनले उज्यालो नेपाल अभियानलाई सुदृढ र संस्थागत गर्न राजनीतिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै नागरिकहरूको निरन्तर सहयोग र साथको आह्वान गरेका छन्।
एकीकरणसम्बन्धी मस्यौदा सोमबार साँझ कमलपोखरीस्थित रास्वपा नेता असीम साहको कार्यालयमा भएको महत्वपूर्ण छलफलपछि अन्तिम रूप दिइएको थियो।
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं। यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।




