काठमाडौं । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान विद्यार्थी बोकेको बस मोटरसाइकलमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा चार जना घाइते भएका थिए । तीमध्ये दुई जनालाई गुल्मी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा मृतक मनकलाका नाति ६ वर्षीय अनुभव गिरी र पैदल यात्री गाउँपालिका–६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते भएका छन् ।
घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।




