वीरगन्ज । धनुषामा मस्जिदमा तोड्फोड गरिएको घटनाको विषयलाई लिएर अशान्त बनेको वीरगन्जमा फेरि कर्फ्यू थपिएको छ। मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसमका लागि कर्फ्यू आदेशको समय थप गरिएको हाे।
यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको थियो । त्यसअघि सोमबार दिउँसो १ बजेदेखि भने निषेधाज्ञा आदेश जारी गरिएको थियो।
पर्साको वीरगन्ज आइतबारदेखि दुई फरक समुदायको प्रदर्शनका कारण अशान्त भएको छ। धनुषाको कमल–६ सखुवा मराडस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
त्यस विषयलाई लिएर वीरगन्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन सुरु गरेका छन्। मस्जिद तोडफोडको विरोधमा मुस्लिम समुदायले आइतबार बिहान विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए। उनीहरूले तोडफोडमा संलग्न व्यक्तिहरूविरुद्ध कानूनी कारबाही गर्नुपर्ने माग गरेका छन्।
यस्तै, वीरगन्जको अवस्था सामान्य बनाउन पर्सा प्रशासनमा सर्वपक्षीय बैठक अहिले जारी छ।




