काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने ३३ जना घाइते भएका छन्।
नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा महानगर यातायातको बा४ख ८७८८ नम्बरको बस दुर्घटना भएको थियो। सुरुमा तीन महिला र दुई पुरुषको मृत्यु भएको थियो। उपचारका क्रममा काठमाडौं महानगरपालिका–५ (गोकर्णेश्वर) निवासी ५५ वर्षीय अर्जुन लामिछानेको गएराति साढे १२ बजे निधन भएपछि मृतक संख्या पाँच पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यसअघि दुर्घटनामा ज्यान गुमाउने अन्य व्यक्तिहरूमा बाँकेको कोहलपुर नगरपालिका–५ की ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङको पाथीभरा–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता तथा पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु रहेका छन्।
घाइतेहरूको उपचार विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।




