दमक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले पञ्चेबाजा र समर्थकहरूको उत्साहजनक उपस्थितिबीच मनोनयन पत्र दर्ता गराएका हुन्।
यसअघि जनकपुरमा रास्वपा सभापति रवि लामिछानेबाट उम्मेदवारीको टिकट लिएका शाहले उम्मेदवारी दर्तापछि सञ्चारकर्मी र समर्थकहरूलाई सम्बोधन गर्दै आफू ‘परिवर्तनको एजेण्डा’ लिएर चुनावी मैदानमा उत्रिएको बताए। उनले अबको राजनीति विकास र सुशासनको हुने दाबी गरे।
बालेन शाहको उम्मेदवारीसँगै झापा-५ राष्ट्रिय राजनीतिको मुख्य आकर्षण बनेको छ। यस क्षेत्रमा शाह र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच रोचक र सिधा प्रतिस्पर्धा हुने देखिएको छ। ओलीले पनि सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।




