काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिनिधिसभा सदस्यका पाँच उम्मेदवारसहित एक संस्थालाई स्पष्टीकरण सोधेको छ। प्राप्त उजुरीका आधारमा आयोगले उनीहरूलाई छुट्टाछुट्टै विषयमा जवाफ माग गरेको हो।
आयोगले झापा क्षेत्र नं. ५ का उम्मेदवार बालेन शाहलाई उनले दिएका अभिव्यक्तिलाई लिएर स्पष्टीकरण सोधेको छ। त्यस्तै, भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई जनकपुरमा भएको भाषणको अपव्याख्या गर्दै मधेसी समुदायको अपमान हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ। सोही क्षेत्रकी उम्मेदवार जानुका पाठकलाई पनि अर्का उम्मेदवारमाथि अमर्यादित टिप्पणी गरेको विषयमा स्पष्टीकरण मागिएको छ।
प्रचारप्रसारमा त्रुटि र बालबालिकाको प्रयोग सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङलाई चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको र उनीहरूलाई टिसर्ट लगाउन लगाएकोमा आयोगले जवाफ मागेको छ। यता रूपन्देही क्षेत्र नं. २ का उम्मेदवार निकोलस भुसाललाई दुई वटा चुनाव चिह्न प्रयोग गरेको र ‘जुत्ता’ लाई अनधिकृत रूपमा प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ।
संस्थामाथि पनि निगरानी उम्मेदवारहरूका अतिरिक्त स्वास्थ्य स्वयंसेवक संघलाई पनि आयोगले सचेत गराएको छ। आचारसंहिता लागू भइसकेपछि अनुमति बिना अधिवेशन गरेको भन्दै संघसँग स्पष्टीकरण मागिएको हो।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको जनाएको छ।




