काठमाडौं । नेपाल यतिबेला चुनावी रापतापमा छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। तर, विडम्बना! निर्वाचन नजिकिँदै गर्दा पनि प्रमुख दलहरू स्पष्ट घोषणापत्र बिना नै मतदातामाझ पुगिरहेका छन्।
विगतका घोषणापत्रहरू कार्यान्वयन नहुँदा नागरिकमा निराशा त छ, तर घोषणापत्र बिनाको राजनीतिक दललाई ‘लगाम बिनाको घोडा’ मानिन्छ। यसै सन्दर्भमा नेपाली कांग्रेसको इतिहासलाई फर्केर हेर्दा २०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले अघि सारेको ‘भिजन १०’ र त्यसले बीपी कोइरालालाई दिलाएको दुई–तिहाइको सफलता अहिलेको पुस्ताका लागि चासो र अध्ययनको विषय बनेको छ।
२०१५ सालको त्यो ऐतिहासिक संकल्प
२००७ सालको क्रान्तिपछि करिब ८ वर्षको संक्रमण अन्त्य गर्दै २०१५ सालमा नेपालमा पहिलो आम निर्वाचन भएको थियो। तत्कालिन समयमा जनताको अनुहारमा रहेको दरिद्रता र अज्ञानतालाई हटाउने संकल्पका साथ नेपाली कांग्रेसले १० वटा मुख्य बुँदामा आधारित घोषणापत्र सार्वजनिक गरेको थियो। जसलाई अहिलेको भाषामा ‘भिजन १०’ भन्न सकिन्छ।
के थियो २०१५ को घोषणापत्रमा?
१. भूमि, गाउँ र किसान: ‘गाउँतिर जाऔँ, गाउँलाई हेरौँ’ भन्ने नाराका साथ बिर्ता उन्मूलन, जमिन्दारी प्रथाको अन्त्य र सहकारी खेतीलाई प्रोत्साहन गर्ने नीति लिइएको थियो। भूमिहीनलाई सेनाको रूपमा विकास गरी कृषि कर्ममा लगाउने ‘भू–सेना’को अवधारणा त्यतिबेलै अघि सारिएको थियो।
२. भूमिहीनको व्यवस्थापन: हदबन्दी कायम गरी बचत भएको जमिन भूमिहीन किसानलाई वितरण गर्ने लक्ष्य थियो।
३. औद्योगिक क्रान्ति: साना, मझौला र ठूला गरी तीन तहका उद्योगको वर्गीकरण गरिएको थियो। नेपाली पुँजीको संरक्षण र विदेशी लगानी भित्र्याउने स्पष्ट नीति लिइएको थियो।
४. मजदुर हित: मजदुरहरूको हकहितका लागि छुट्टै ‘मजदुर ऐन’ जारी गर्ने संकल्प गरिएको थियो।
५. सुशासन र भ्रष्टाचार नियन्त्रण: तत्कालीन प्रशासनमा व्याप्त घुसखोरी र भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने अठोट थियो।
६. महिला र शिक्षा: महिलाहरूको बौद्धिक विकास र पिछडिएको वर्गको हक संरक्षणका लागि वैज्ञानिक छात्रवृत्ति र शिक्षा नीति अघि सारिएको थियो।
७. विकेन्द्रीकरण: शासनको अधिकार गाउँ तहसम्म पुर्याउन स्थानीय जनप्रतिनिधिहरूको कमिटी बनाउने र विकासको जिम्मेवारी तल्लो तहमै दिने नीति लिइएको थियो।
८. धार्मिक स्वतन्त्रता: ‘कांग्रेस सबैको साझा हो’ भन्दै प्रत्येक नागरिकलाई आफ्नो अन्तरात्माको विश्वास अनुसार धर्म मान्न पाउने पूर्ण स्वतन्त्रताको ग्यारेन्टी गरिएको थियो।
९. शिक्षा, स्वास्थ्य र यातायात: घोषणापत्रले यी तीन क्षेत्रलाई राष्ट्रको पहिलो आवश्यकताका रूपमा परिभाषित गर्दै राज्यको सम्पूर्ण शक्ति सञ्चार र यातायात विस्तारमा लगाउने प्रतिबद्धता जनाएको थियो।
१०. असंलग्न परराष्ट्र नीति: कुनै पनि सामरिक गुटमा नलाग्ने र छिमेकी राष्ट्रहरूसँग समानताका आधारमा मित्रता कायम गर्ने नीति लिइएको थियो।
इतिहास दोहोर्याउला त नयाँ पुस्ताले?
अहिले नेपाली कांग्रेसको नेतृत्वमा गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूको वर्चस्व देखिन्छ। विशेष महाधिवेशनपछि नयाँ जोशका साथ आएको यो टोलीले पनि ‘भिजन १०’ कै शैलीमा आधुनिक र कार्यान्वयन योग्य घोषणापत्रको तयारी गरिरहेको चर्चा छ।
जसरी २०१५ सालमा स्पष्ट भिजनले बीपी कोइरालालाई प्रधानमन्त्रीको कुर्सीमा पुर्यायो र कांग्रेसलाई दुई–तिहाइ बहुमत दिलायो, के गगन–विश्वको नेतृत्वले तयार पार्ने ‘नयाँ भिजन १०’ ले वर्तमानका मतदातालाई विश्वस्त पार्न सक्ला?
बिना घोषणापत्र घरदैलोमा पुगेका दलहरूलाई नागरिकको एउटै प्रश्न छ– “भोट केका लागि?” यो प्रश्नको उत्तर खोज्न कांग्रेसले पुनः आफ्नो गौरवमय इतिहासको ‘भिजन १०’ लाई आधुनिक संस्करणमा उतार्न आवश्यक देखिन्छ। फागुन २१ को मत परिणामले नै बताउनेछ कि इतिहासको त्यो सफलता दोहोरिन्छ या घोषणापत्र केवल कागजको पानामा सीमित हुन्छ। -श्रिधर उपाध्याय




