दमौली, माघ २१ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धुव्र वाग्लेले तनहुँ क्षेत्र नम्बर १ ले परदेशी र क्षणिक स्वार्थका लागि आएको व्यक्ति होइन, यही माटोमा हुर्किएको, यही समाज चिनेको नेतृत्व खोजिरहेको बताउनुभएको छ । व्यास नगरपालिका–१० बैरेनीमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईको चुनाव प्रचार–प्रसार कार्यालयको मंगलबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
केन्द्रीय सदस्य वाग्लेले रास्वपाका उम्मेदवारप्रति लक्षित गर्दै “झुक्काउन आउने होइन, माटो चिनेको नेता आवश्यक छ,” भन्नुभयो । उहाँले गोविन्द भट्टराई जनताको दुःख–सुखसँग जोडिएको, स्थानीय आवश्यकता बुझेको र विकासप्रेमी नेता भएको उल्लेख गर्नुभयो । देश परिवर्तनको संघारमा उभिएको उल्लेख गर्दै वाग्लेले युवाहरूका माग पवित्र र जायज भए पनि पछिल्लो समय परिवर्तनको नाममा अराजकता, हिंसा र आतंक फैलाइएको आरोप लगाउनुभयो । “बाटोघाटो बने, बिजुली आयो, स्वास्थ्यचौकी र विद्यालय खुले,” उहाँले भन्नुभयो, “तर सुशासन आएन । अस्पताल, विश्वविद्यालय र सेवा दिने कार्यालयमा जनताले सहज सेवा पाएनन्, बेरोजगारी बढ्दै गयो ।”
उहाँले भदौ २४ गते गरिएको षड्यन्त्रले माओवादीको दश वर्षे जनयुद्धभन्दा पनि बढी क्षति पुर्याएकाे दाबी गर्दै सिंहदरबार, राष्ट्रपतिको भवन जलाइएको, सरकारी कार्यालयहरू ध्वस्त पारिएको, अभिलेख नष्ट गरिएको र आम नागरिकले पासपोर्टसम्म बनाउन नपाएको अवस्था सिर्जना भएको स्मरण गराउनुभयो । “परिवर्तन खोजिएको हो, हत्या, हिंसा, आगजनी र लुटपाट खोजिएको होइन,” उहाँले जोड दिनुभयो ।
केन्द्रीय सदस्य वाग्लेले सामाजिक सञ्जालमा लाखौँ नक्कली खाता खोलेर भ्रम फैलाउने, झुटा सन्देश प्रवाह गर्ने प्रवृत्तिप्रति पनि कडा टिप्पणी गर्दै त्यस्ता आवरण र प्रवृत्तिलाई चिर्न जरुरी रहेको बताउनुभयो । यदि यस्तै अराजकता निरन्तर रहिरहे देश नै संकटमा पर्ने अवस्था आउन सक्ने उहाँको चेतावनी थियो ।
तनहुँ क्षेत्र नम्बर १ ले विकासप्रेमी उम्मेदवार पाएको चर्चा गर्दै उहाँले गोविन्द भट्टराई निर्वाचनमा पराजित हुँदा पनि जनताको पीडा देख्न नसकी फाइल बोकेर काठमाडौं धाउने नेताका रूपमा परिचित भएको उल्लेख गर्नुभयो । “उहाँ निष्ठावान, निस्कलंक, साधारण जीवनशैलीमा विश्वास गर्ने, उच्च नैतिकता भएको व्यक्तित्व हुनुहुन्छ,” वाग्लेले भन्नुभयो, “नेविसंघको केन्द्रीय सभापति, तरुण दलको केन्द्रीय सचिवजस्ता जिम्मेवारी सम्हाल्दा पनि कुनै सार्वजनिक पद नलिएको उदाहरणीय नेता हुनुहुन्छ ।”
सो अवसरमा काँग्रेस उम्मेदवार गोविन्द भट्टराईले आफू ‘गुगलले चिनेको नेता होइन, माटोले चिनेको नेता’ भएको बताउनुभयो । यहाँका जनताका वास्तविक समस्या आफूलाई थाहा रहेको र तिनको समाधानका लागि नै उम्मेदवार बनेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाली काँग्रेस बदलिएर युवा पुस्ताको नेतृत्वतर्फ अघि बढेको सन्देश पनि दिइएको थियो । पार्टीभित्र गगन थापाको नेतृत्व स्थापित भइसकेको उल्लेख गर्दै वक्ताहरूले अब काँग्रेस सुशासन, जवाफदेहिता र जनमुखी राजनीतिका साथ अघि बढ्ने बताए ।
यसअघि व्यास नगरपालिका–१२ मा घरदैलो कार्यक्रम तथा व्यास नगरपालिका–९ गजौंडेमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू चिनु पोख्रेल, प्रकाश पन्थ, संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेश सदस्य इन्जिनियर हरिदत्त पौडेललगायतले काँग्रेस उम्मेदवार गोविन्द भट्टराईको पक्षमा धारणा राख्नुभएको थियो ।





