Photo : UNICEF
काठमाडौं, माघ २५ । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको राष्ट्रिय खोप अभियान अन्तर्गत आजदेखि देशभरका कक्षा ६ मा अध्ययनरत बालिकाहरू र १० वर्ष उमेरका विद्यालय बाहिर रहेका किशोरीहरूलाई ‘ह्युमन प्यापिलोमा भाइरस’ (HPV) विरुद्धको खोप दिन सुरु गरेको छ।
माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुने यस २० दिने अभियानमा गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका छात्रा र ११ देखि १४ वर्षका विद्यालय बाहिर रहेका किशोरीहरूलाई समेत अन्तिम मौकाका रूपमा समेटिएको छ।
नेपालमा महिलाको मृत्यु हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर मुख्यतया एचपिभी भाइरसको १६ र १८ प्रजातिबाट हुने भएकाले, यसलाई रोक्न चीनमा उत्पादित ‘सेकोलिन’ ब्राण्डको एक मात्रा खोप प्रदान गर्न लागिएको हो। काठमाडौँ महानगरपालिकामा मात्र ९ हजार ११३ किशोरीहरू लाभान्वित हुने यस कार्यक्रममार्फत देशभर करिब ३ लाख ५० हजार किशोरीहरूलाई सुरक्षित राख्ने सरकारको लक्ष्य रहेको छ।
यसपटकको एचपीभी खोप कार्यक्रम अन्तर्गत किशोरीहरूलाई चीनमा उत्पादित ‘सेकोलिन’ (Cecolin) ब्राण्डको खोप प्रदान गरिँदैछ। स्वास्थ्य विज्ञहरूका अनुसार यो खोप केवल एक मात्रा लगाए पुग्छ र यसैलाई पूर्ण मात्रा मानिन्छ। विशेष ध्यान दिनुपर्ने कुरा के छ भने, जो किशोरीहरूले गत वर्षको अभियानमा नै एचपीभी खोप लगाइसकेका छन्, उनीहरूले यस वर्ष पुनः यो खोप लगाउनु पर्दैन। यो खोप पूर्ण रूपमा सुरक्षित रहेकाले लक्षित समूहका सबै किशोरीहरूलाई ढुक्क भएर खोप लगाउन आग्रह गरिएको छ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो धेरै देखिने र मृत्यु गराउने प्रमुख कारण हो। चिकित्सकहरूका अनुसार सानै उमेरमा यो खोप लगाउँदा भविष्यमा हुने क्यान्सरको जोखिमलाई लगभग पूर्ण रूपमा रोक्न सकिन्छ। गत वर्ष मात्रै देशभरका करिब १७ लाख बालिकाहरूले यो खोप लगाएका थिए भने यस वर्ष २० दिने अभियानमा करिब ३ लाख ५० हजार बालिकाहरूलाई खोप लगाउने सरकारको लक्ष्य छ।




