मुम्बई, माघ २५ । आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इङ्ल्यान्डबाट १८४ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।
मुम्बईको वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनायो। इङ्ल्यान्डका लागि कप्तान ह्यारी ब्रुकले ५३ रन र जेकोब बेथेलले ५५ रनको अर्धशतकीय पारी खेले। अन्त्यतिर विल ज्याक्सले आक्रामक ब्याटिङ गर्दै १८ बलमा अविजित ३९ रन जोडेपछि इङ्ल्यान्डको योगफल बलियो बनेको हो।
नेपालको कसिलो बलिङ नेपालका लागि दीपेन्द्र सिंह ऐरी र डेब्यु गरिरहेका नन्दन यादवले समान २-२ विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र शेर मल्लले १-१ विकेट हात पारे।
विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले अब केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ। यस समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड रहेका छन्।




